२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


भक्तपुरका कृषकलाई धान भित्र्याउन भ्याई-नभ्याई


104
Shares

काठमाडाैं । भक्तपुरका कृषकहरुलाई यति बेला धान भित्र्याउन भ्याई-नभ्याई भएकाे छ ।

भक्तपुर भेलुखेलका कृषकहरु तिहार अघि नै भकारी भर्ने हतारोमा रहेका हुन् । लक्ष्मी पूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका कृषकहरुलाई धान भित्र्याउने चटारो भएको हो । भेलुखेल टोलका करिब ५० घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउने गरेका छन् । खेतका गह्रालाई आलीले छुट्टाए जस्तै स्थानीयले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको देख्न सकिन्छ ।

यहाँका खाली चोक तथा आँगनमा धानले भरिएको देख्न सकिन्छ । साथै किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटक समेत रमाउने गरेका छन् । धानको धुलोको बेवास्ता गर्दै पर्यटकहरु कृषकको जीवनशैलीमा रमाउने गरेका छन् । स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् ।

भेलुखेलमा मात्र होइन भक्तपुर अन्य खाली ठाउँमा पनि धान सुकाएको देखिन्छ । स्थानीयहरु चरा, कुखुराबाट धान जोगाउन सुकाएको स्थानमा कुरेर बस्ने गर्दछन् । भक्तपुरका कृषकहरुले समयमै मल नपाउँदा विगतको तुलनामा धान कम फलेको गुनासो पनि गरेका छन् ।

पहिले पहिले कृषकहरु धान चोरी हुने डरले धान सुकाएकै स्थानमा सुत्ने गरेकोमा अहिले भने धानलाई थुप्रो लगाएर त्रिपालले छोपेर छोड्ने गरेका छन् ।