२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मत माग्न उम्मेदवार गाउँमा, मल माग्न कृषक शहरमा


208
Shares

काभ्रे । काभ्रेमा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।

२ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र गरी ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यति बेला राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मत माग्नका लागि घरदैलो कार्यक्रममा ब्यस्त भएका छन् । सोही क्रममा उनीहरुले आफू निर्वाचित भएमा कृषि क्षेत्रको विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनका क्षेत्रमा व्यापक रुपमा सुधार गर्ने भन्दै विभिन्न सपना बाँडिरहेका छन् ।

तर पटक–पटक धोका पाएका जनता भने उनीहरुको कुरामा विश्वस्त हुन सकेका छैनन् । यतिबेला नेताहरु मत माग्न गाउँमा आएका छन् भने कृषक मल माग्न शहर गएका छन् । आलु लगाउनुपर्ने समय आइसक्दा समेत मल आउने कुनै अत्तोपत्तो नभएपछि पाँखालका कृषक आन्दोलित भएका छन् । रासायनिक मल पीडित संघर्ष समिति नै गठन गरेर उनीहरु संघर्षमा उत्रिएका हुन् ।

समितिले बिहिबार पाँचखाल नगरपालिका, कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल, साल्ट ट्रेडिङ र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । आलु लगाउने समयसम्म पनि रासायनिक मलका लागि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्र्नु परेको संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो ।

मंसिर १५ सम्म आलु नलगाए खेत बाँझै हुने अवस्था आउने उहाँले दु:ख व्यक्त गर्नभएकाे छ । यही समयमा चुनाव पनि भएकाले आफ्ना समस्या राख्न नेताहरु भेट्नै मुस्किल परेको थापाले बताउनुभयो । नेताहरु मत माग्नकै लागि व्यस्त हुँदा कृषकका मुद्दा ओझेलमा पर्ने हो कि भन्ने उहाँले चिन्ता गर्नुभएकाे छ ।

मत माग्न गाउँमा पुगेका उम्मेदवारले मलको विषयमा केही नबोलेको उहाँले बताउनुभएकाे छ ।