
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको छ ।
प्राधिकरणले हालै गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको हो । उहाँले निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुन सक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताउनुभयो ।
महानिर्देशक अधिकारीले कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरे बापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिन सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणे ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्थाका विषयमा चाँडै निर्णय गर्ने पनि बताउनुभयो ।
उहाँले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी निर्णयबाट पछाडि हटेको बताउनु भयो । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रुपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताउनुभयो ।
उहाँले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने पनि बताउनुभयो । अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ । अहिलेसम्म निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले सुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्