
काठमाडौं । चुनावअघि नै काठमाडौंबासीका धारामा मेलम्चीको पानी झर्ने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको जनाएको छ ।
आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
यो वर्षको वर्षामा आयोजनामा कम क्षति भएकाले पानी वितरण सहज बनेको छ । यस वर्ष बर्खा लाग्नुअघि नै हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य पदार्थ जान रोकिएकाले सुरुङमा समस्या नभएको हो । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिको तयारी छ । आयोजनाको दीर्घकालीन मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन आएपछि योजनाबद्ध रुपमा मर्मत र सुधारको काम अघि बढाइने छ ।
तीन दशकभन्दा पहिले निर्माण सुरु आयोजनाबाट २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौं ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् वि.सं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो ।
सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्यायो । सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत बैशाखमा पुनः पानी पथान्तरण गरेको थियो । झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भए पनि वर्षाले थप क्षति हुन नदिन त्यसअघि नै पानी वितरण रोकिएको थियो ।
सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्