
बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी विजयी भएको छ ।
शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जित हात पारेको हो ।
छनौट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको १९० रनको लक्ष्य पन्छाएको डडेलधुरा १५४ रनमा अलआउट भयो ।
विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरेपनि हार भने टार्न सकेनन् । डडेल्धुराको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहराले ५ विकेट हात पारे । बोहराले ८ ओभरमा २ मेडन राखेर २४ रन खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै, वीरेन्द्र चन्दले २ विकेट झारे । त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा १८९ रन बनायो । जसमा विरेन्द्रले अर्धसतकीय पारी खेल्दै ६१ रनको योगदान दिए । जसमा ४ चौका र ३ छक्का सामेल थिए ।
यस्तै, दीपक बोहराले ३१ र कप्तान बसन्त खत्रीले २४ रन जोडे । डडेलधुराका कृष्ण विष्टले ४ र कैलाश ऐर र निर्मल रोक्काले २÷२ विकेट हात पारे । प्रदेशस्तरीय छनौटमा यहाँका ८ जिल्लाका टोली सहभागी छन् ।
सहभागी टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कपका लागि छनौट हुुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्