६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सत्ता होइन व्यवस्था महत्वपूर्ण छ : रामचन्द्र पौडेल


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका लागि सत्ता नभइ व्यवस्था महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रबार बाम गठबन्धनको तर्फबाट बुटवलमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई सत्ता महत्वपूर्ण नभइ व्यवस्था महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले गठबन्धनलाई आगामी निर्वाचनमा नजिताए मुलुक संकटमा पर्ने जिकिर गर्नुभयो । वरिष्ठ नेता पौडेलले मुलुकमाथि खेलवाड गर्न चाहने शक्तिको विरुद्ध र प्रतिगामी तत्वहरुको विरुद्ध गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनले चुना नजिते मुलुक अस्थिरताको भुमरिमा जाने दाबी गर्नुभयो ।

उहाँले कांग्रेस र कम्युनिष्ट दुई धार नभइ गठबन्धनले जित्ने हो भन्ने सोचेर निर्वाचनमा गठबन्धनलाई जिताउन कार्यकर्तासमक्ष आग्रह गर्नुभयो । वरिष्ठ नेता पौडेलले ५ दलको गठबन्धनले राष्ट्र जोगाउने, देशमा राजनीति स्थिरता ल्याउने बताउनुभयो । उहाँले देशमा सुशासन ल्याउने कबुल गठबन्धनले गरेको बताउनुभयो । उहाँले देशलाई सुशासन चाहिएको भन्दै सुशासन कायम नहुँदा जनता निराश बनेको बताउनुभयो ।

उहाँले अब देशमा सुशासन ल्याउने हिम्मत गठबन्धनले ल्याउने भन्दै परिवर्तनका वाहक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले नयाँ नेपाल बनाउने संकल्प लिएर गठबन्धन निर्वाचनमा गएको भन्दै गठबन्धन सामान्य राजनीतिक तालमेल मात्र नभएको जिकिर गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टी भित्रका सानातिना मनमुटावलाई परित्याग गरेर सहकार्य, सहमति र एकताका लागि जुट्न आग्रह गर्नुभयो ।