१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?


14.3k
Shares

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ ।

गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने दुवै जना अलग पार्टीबाट चुनावी मैदानमा आएकाले मतदाताले कुन उम्मेदवारलाई विजयी गराउँछन् केही महिना प्रतिक्षा गर्नुपर्ने छ ।

एमालेबाट फुटेर एकीकृत समाजवादी बनेसँगै रामकुमारी झाँक्री एकीकृत समाजवादीतिर लाग्नुभएकाे छ । गोकर्ण विष्ट भने एमालेमै बस्नुभएकाे छ । अहिले नेकपा एमालेले पुनः विष्टलाई नै अगाडि सारेको छ । गठबन्धनकोतर्फबाट झाँक्रीलाई अगाडि सारिएको छ । कुनै बेला गोकर्ण विष्टको चुनावी कमाण्डर बन्नुभएकी झाँक्री यो चुनावमा विष्टकै प्रतिस्पर्धी बन्नुभएकाे छ । यसले गर्दा पनि गुल्मी–२ को चुनावलाई यस पटक निकै महत्वका साथ हेरिएको छ ।

विष्ट २०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आउनुभएकाे छ । उहाँलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा सागरले हरायनुभएकाे थियाे । अरु सबै चुनाव विष्टले जित्नुभएकाे छ । यो पटक पनि विष्टले गुल्मी क्षेत्र नम्बर २ बाट जित्ने बताउँदै आउनुभएकाे छ । तर उहाँलाई झाँक्रीलाई टक्कर दिन भने त्यति सजिलो देखिदैन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये कांग्रेस सबै भन्दा बलियो छ । यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीको ६ सय ५८ मत मात्र देखिन्छ । तर गठबन्धनको मत एक ठाउँमा राख्दा झाँक्रीको मत बढी देखिन्छ । झाँक्रीलाई चुनाव जित्न नेपाली कांग्रेसकै भर पर्नुपर्ने अथवा गठबन्धनकै सहयोग आवश्यक छ ।

सँगैका सहकर्मी अलग-अलग पाटीबाट प्रतिस्पर्धी बन्दा कसकाे पल्ला भारी हुने भन्ने आंकलन गुल्मीमा छ । कसैले गठबन्धकोतर्फबाट उम्मेदवार रहनुभएकी झाँक्रीको जित निश्चित त कसैले एमालेका उम्मेदवार विष्टको जित निश्चित भएको दावी गरी रहँदा यसको छिनोफानोका लागि मंसिर ४ गतेपछिको समय कुर्नैपर्ने देखिन्छ ।