
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताउनुभएकाे छ ।
आज (शनिबार) बिहान बुटवलमा उद्योगी र व्यवसायीको भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उहाँले बताउनुभएकाे छ ।
रूपन्देही-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष पौडेलले सरकारबाटै निजी क्षेत्रको घाटी न्याक्ने काम भएको टिप्पणी समेत गर्नुभएकाे छ । अस्वभाविक रुपमा करको दर हेरफेर र बैंककाे ऋणको ब्याजदरमा उच्च वृद्धि लगायतका कारणले निजी क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको उहाँकाे तर्क छ।
गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयाे । सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता समेत जनाउनुभएकाे छ ।
व्यवसायीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ सधै रहेको समेत उहाँले उल्लेख गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्