
काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो ।
काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ ।
काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ ।
बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ । तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो ।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।
त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ । यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल सुरु भएको पाइन्छ ।
आजबाट विधिवत रुपमा यमपञ्चक सुरु भएको छ । आज धनतेरस पर्व पनि मनाइँदै छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ ।
आज बेलुका यमदीपदान सुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्