२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः विदेशी फूल धेरै देखिए


1.313k
Shares

ललितपुर । जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

कार्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् । अवलोकन कर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए ।

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नुभएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताउनु भयो । उहाँले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ ।’

त्यस्तै अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताउनु भयो । उहाँले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताउनु भयो । त्यस्तै अवलोकन कर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलहश्रको बजार महंगी रहेको बताउनु भयो । उहाँले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताउनु भयो ।

त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउनु हुन्छ । उहाँले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गर्नुहुन्छ । त्यस्तै अर्का व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउनुहुन्छ । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको बताउनु भयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आजसम्म सञ्चालन हुनेछ ।