१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पुष्प मेलामा विदेशी फूलहरु अत्यधिक


143
Shares

काठमाडौं । पुष्प मेलामा विदेशी फूलहरु धेरै देखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

ललितपुरको जावलाखेल सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिई प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

कार्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् । अवलोकन कर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य वृद्धि भएको बताए ।

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नुभएका राजाराम पौडेलले फूल सम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताउनुभयो । उहाँले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताउनुभयो । उहाँले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताउनुभयो । त्यस्तै, अवलोकन कर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलहश्रको बजार महंगी रहेको बताउनुभयो । उहाँले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताउनुभयो ।

त्यस्तै, व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउनुभयो । उहाँले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै, अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गर्नुहुन्छ । त्यस्तै, अर्का व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउनुहुन्छ । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको बताउनुभयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन)मा करिब २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आइतबारसम्म सञ्चालन हुने छ ।