१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्तिक १८ गतेदेखि उम्मेदवारले र्‍याली, गोष्ठी गर्न पाउँछन् : आयुक्त भण्डारी


260
Shares

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोण सभा, आम सभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताउनुभयो । उहाँले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमा भित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताउनुभयो ।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताउनुभयो । उहाँले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताउनुभयो ।

आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।