
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।
लामिछानेमाथिको अनुसन्धान सक्दै प्रहरीले कैद सजाय माग दाबी सहित आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।
मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कैद सजाय माग गरेको हो ।
सन्दीपमाथि १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले बलात्कारी पुष्टि भएको दाबी सहित कैद सजाय मागदाबी गरेको हो । यसअघि आजै जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
यसअघि थप गरिएको समयसीमा सकिएसँगै नेपाल प्रहरीको आग्रहमा अदालतले थप २ दिन अनुमतिका लागि समय थपेको हो । १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । मंगलबारबाट तिहारको बिदा भएकाले थुनछेक अर्को सार्वजनिक बिदा सकिएपछि मात्र हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्