
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
तिहार पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सम्पूर्ण नेपालीबीच तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्नेसमेत विश्वास व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताउँदै राष्ट्रपति भण्डारीले अर्कोतिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने उल्लेख गर्नुभएको छ ।
तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको उल्लेख गर्दै उहाँले यस प्रकारका असल परम्परा र अभ्यासलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।
तर, बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हटाउँदै जानु पर्ने राष्ट्रपतिको भनाई छ ।
यसैबीच, राष्ट्रपति भण्डारी आज सोमबार बिहान ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपतिले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभयो ।
साइत कार्यक्रममा सरिक हुन ढेचो पुग्दा राष्ट्रपति भण्डारीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्