
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली पतन भएर जाने दाबी गर्नुभएको छ ।
ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताउनुभएको हो । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उहाँले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गर्नुभयो ।
संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले ओलीले संविधान, कानून समेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहोर्याउँदै त्यसलाई कायमै राखेर अघि बढनुपर्ने समेत बताउनुभयो ।
अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने जिकीर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्