
काठमाडौं । फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ ।
फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो ।
सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले बिदाई गरेका थिए । नेपालको तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागीता जनाउने छ ।
कार्टिङ स्प्रिन्टमा सहभागिता जनाउन लागेका दिप्रश शाक्यले प्रतियोगिता विश्वकप स्तरको भएको र ओलम्पिक संरचनामा खेलाइने बताउनुभयो । शाक्यले विश्वस्तरको प्रतियोगितामा देशको प्रनिधित्व गर्नु पाउनु आफ्नो लागि ठूलो मौका भएको बताउनुभयो ।
यस्तै, अटोल स्लेलममा नेपालको तर्फबाट महिला र पुरुष विधामा सहभागिता जनाउन लागेका अनिल बराल र जिस्वा तुलाधर श्रेष्ठले प्रतिष्पर्धामा राम्रो प्रदर्शन गर्ने बताए । ९० देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पनि झण्डा फहराउने अवसर भएको भन्दै उत्कृष्ट नतिजाका लागि प्रतिष्पर्धा गर्ने अटो स्लेलमका प्रतिष्पर्धीले बताए ।
ओलम्पिक फरम्याटमा हुने यो नै एफआइएको एक मात्र प्रतियोगिता हो । संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्टस नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रुपमा शुरुवात भएको हो । प्रतियोगितामा १७ वढी विधामा विश्वभरका खेलाडीबीच प्रतिष्पर्धा हुने छ ।
अक्टोबर २६ देखि ३० सम्म चल्ने प्रतियोगितामा एफआईएको विश्वस्तरीय प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी भएको हो ।
प्रतिक्रिया दिनुहोस्