
काठमाडौं । रुस–युक्रेन युद्धले सम्बन्धमा ठूलो दरार आएको बेला अमेरिकी सेना प्रमुखले रुसी सेना प्रमुखसँग टेलिफोन संवाद गर्नुभएको छ ।
अमेरिकी सेनाका संयुक्त अध्यक्ष जर्नेल मार्क मिलेले रुसी समकक्षी जर्नेल भ्यालेरी गेरासिमोभसँग गएराती टेलिफोन वार्ता गर्नुभएको सीएनएनले जनाएको छ ।
अमेरिकी सेनाका प्रवक्ता कर्णेल डेभ बटलरले दुई सेना प्रमुखबीच सुरक्षा, दुई सेनाबीचको सम्बन्ध र अन्य अन्तर्राष्ट्रिय चासोका मुद्दालगायतका विषयमा छलफल भएको जानकारी दिनुभएको हो । बटलरका अनुसार संवादको ढोकालाई खुला राख्ने सहमति पनि भएको छ ।
तर संवादको विवरण भने विगतमा झैं गोप्य राखिने पनि प्रवक्ता बटलरले बताउनुभयो । रुसी समकक्षीसँगको संवाद लगत्तै अमेरिकी सेना प्रमुख मिलेले युक्रेनी सेना प्रमुख जर्नेल भ्यालेरी जालुज्नीसँग पनि टेलिफोन कुराकानी गर्नुभएको थियो ।
युक्रेनी सेना प्रमुखसँगको संवादमा युद्धको पछिल्लो अवस्थाको समीक्षा गर्नुका साथै मिलले युक्रेनको सार्वभौमिकता र भौगोलिक सीमाको रक्षाका लागि अविच्छिन्न सहयोग जारी रहने आश्वासन दिनु भएको जनाइएको छ ।
यसअघि गत आइतबार रुसी रक्षामन्त्री सर्गेई सोइगु र अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनबीच पनि टेलिफोन संवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्