
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा महाकवि देवकोटाको पूर्णकद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो ।
त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको उल्लेख गर्नु भयो । उहाँले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूलाठूला खण्डकाब्यको रुपमा लिएको पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो ।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साँहिला छोराको रुपमा जन्मनु भएको महाकवि देवकोटा शिक्षामन्त्री समेत बन्नुभएको थियो । उहाँको २०१६ साल भदौ २९ गते सोमबार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्