२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी


117
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।

चाड पर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताउनुभयो । यस्तै, तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने बताइएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कात्तिक ४ गते जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु÷खेलाउन जानकारी गराएको थियो ।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढंगले लागेको छ । काठमाडौं प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानूनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ ।