
काठमाडौं । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको हो ।
भाइटीकाको अवसरमा मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले आवश्यक सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा वि.सं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो ।
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो । भूकम्पपछि भाइटीकाका अवसरमा निश्चित मापदण्ड तोकेर पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्