
काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार नेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।
बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको जनाएका हुन् ।
प्रतिनिधिसभाका लागि रुपन्देही २ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बन्नुभएको थियो । तर, उम्मेदवार मनोनयन भएलगत्तै बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेपनि अदालतले निर्वाचन अधिकृतको कार्यालयको निर्णयलाई नै सदर गरेपछि गठबन्धन उक्त क्षेत्रमा उम्मेदवारविहीन बनेको थियो ।
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेले पार्टी उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ । उपाध्यक्ष पौडेलले यो क्षेत्रबाट लगातार तीन पटक निर्वाचन जित्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्