२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङमा निर्वाचनका लागि ८ हजार जनशक्ति परिचालन हुने


52
Shares

दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब ८ हजार जनशक्ति परिचालन हुने भएका छन् ।

जिल्लामा ३ प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र एक सय मतदान केन्द्र छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा ४ हजार बढी सुरक्षाकर्मी र ३ हजार ७ सय २० कर्मचारी खटिन लागेको बताउनुभयो ।

मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । दाङमा ४ हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् । सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने छन् ।

दाङका एक सय ५३ मतदानस्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रुपमा अति संवेदनशील पहिचान गरिएको छ ।

बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उहाँले बताउनुभयो । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले जानकारी दिनुभयो ।

जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको बताइएको छ । जिल्लामा चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने प्रदेश निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।