
एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भएको छ । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन् ।
तिब्बतमा झण्डै तीन महिनादेखि कडा लकडाउन गरिएको छ । मूख्य भूमि चीनबाट आएका हान जातिका कामदारहरु प्रदर्शनमा उत्रिएको बताइएको छ ।
सामाजिक संजालमा आएका भिडियोमा प्रदर्शनकारीहरुले आफूहरु काम गरेर पैसा कमाउनका लागि मूख्यभूमिबाट तिब्बत आएको तर महिनौं थुनिएर बस्नुपर्दा चौपट भएको बताएका छन् ।
उनीहरुले प्रहरीको प्रतिकार गरेको र दमन गरे आगजनी गर्ने चेतावनी दिएको पनि देखिएको छ । प्रदर्शनकारीहरुले ल्हासामा लकडाउन गरेको ७७ दिन भइसकेको भन्दै मूल्य वृद्धि चुलिएको र घरधनीहरुले भाडा उठाउन नछाड्दा आफूहरु समस्यामा परेको बताएका छन् ।
उनीहरुले लकडाउन नखोले पनि आफू गृहनगर फर्कन दिनुपर्ने माग गरेका छन् । शून्य कोभिड नीति लिएको चीनले फाट्टफुट्ट कोरोना संक्रमण देखिने वित्तिकै कठोर लकडाउन गर्ने गरेको छ । जसका कारण सर्वसाधारण हैरान भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्