
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयार पारेको घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको हो ।
पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार पारेको छ ।
घोषणापत्र मस्यौदा तयारी समितिका सदस्य गेजाशर्मा वाग्लेका अनुसार पार्टीसभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने छ ।
महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो ।
कांग्रेसको घोषणापत्र तयारी समितिमा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारी, प्रताप पौडेललगायत रहेका छन् । यसअघि यही कात्तिक ७ गते सार्वजनिक गर्ने भनिएको प्राविधिक कठिनाई भन्दै घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्