
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन व्यस्त छन् । मतदाता रिझाउन आसन्न निर्वाचनमा उम्मेदवार बन्नुभएका राजनीतिक दलका शीर्ष नेताहरुलाई उत्तिकै सकस परेको छ । आसन्न निर्वाचनमा उम्मेदवार बनेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको हारजितको सवालमा सबैलाई चासो देखिन्छ । सुरक्षित निर्वाचन क्षेत्र खोज्दै कतिपय राजनीतिक दलका प्रमुख नेताहरूले निर्वाचन क्षेत्र नै बदलेका छन् भने केही पुरानै क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक आफ्नो पुरानै निर्वाचन क्षेत्र डडेल्धुराबाट उम्मेदवारी दिनुभएको छ । सात पटक संसदीय निर्वाचन जितेर पाँच पटक मुलुकको प्रधानमन्त्री भइसक्नुभएका देउवालाई कुनै समयका उहाँकै स्वकीय सचिव एवं कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ल मुख्य चुनौतिको रुपमा देखिनुभएको छ ।
प्रमुख विपक्षी दल एमालेले उक्त क्षेत्रमा आफ्नै उम्मेदवार नउठाएकाले यसपटक देउवाको लागि चुनाव जित्न थप सहज हुने विश्लेषण भइरहेको छ । यस पटक उहाँकै आफ्नो गृह जिल्लामा देउवाका सातजना प्रतिस्पर्धी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यहाँ आफ्नो उम्मेदवार छैन् । ७७ वर्षीय देउवालाई अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका ३१ वर्षीय सागर ढकालको उम्मेदवारीलाई चुनौतिपूर्ण मानिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुरानै क्षेत्र झापा ५ बाट उम्मेदवारी दिनुभएको छ । झण्डै दुई दर्जन उम्मेदवार चुनावी मैदानमा रहे पनि ओलीको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीसँग हुने ठानिएको छ । लामो समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्नुभएका अधिकारीले अघिल्लो संसदीय निर्वाचनमा राजीनामा दिएर ओलीसँगै प्रतिस्पर्धा गर्नुभएको थियो । अधिकारीलाई सत्तागठबन्धनको साथ रहेको छ । आफ्नो गृह जिल्लामा ७० वर्षका ओलीलाई लेखक युग पाठकले पनि चुनौति दिइरहनुभएको छ ।
सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुला राजनीतिमा आएपछि संसदीय प्रतिस्पर्धामा सहभागी भएयता हरेक चुनावमा फरक–फरक क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको छ । यस पटक गोरखा २ बाट उम्मेदवार बन्नुभएका दाहाललाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन क्षेत्र छोडिदिनुभएको हो । गठबन्धनको साथ पाउनुभएका दाहाललाई स्वतन्त्रसहित झण्डै १ दर्जन उम्मेदवारले टक्कर दिइरहनुभएको थियो ।
चितवनबाट गोरखा आउनुभएका ६६ वर्षीय दाहाललाई नेकपा एमालेको साथ पाउनुभएका २९ वर्षीय अब्दुस मियाँले चुनौति दिने ठानिएको छ । कांग्रेस बिपीबाट ९९ वर्षका टिकादत्त पोखरेल दाहाललाई चुनौतति दिन मैदानमा उत्रिनुभएको छ । सत्ता गठबन्धनको तेस्रो ठूलो घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसअघिको निर्वाचन क्षेत्र काठमाडौं २ छोडेर गृहजिल्ला रौतहट १ बाट उम्मेदवार बन्नुभएको छ । आफ्नो पुरानो निर्वाचन क्षेत्र फर्किनुभएका नेपालको लागि उहाँकै पुरानो पार्टी एमालेका अजयकुमार गुप्ता मुख्य चुनौति देखिनुभएको छ । यसअघि गौरको मेयर रहनुभएका गुप्तालाई जनता समाजवादी पार्टीको समर्थन छ । हाल ६९ वर्षका नेपालले २५ वर्षका स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र सहितका अन्य छ जना युवा उम्मेदवारको चुनौति सामना गर्नुपरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनाल आफ्नो पुरानै निर्वाचन क्षेत्र इलाम १ बाट उम्मेदवार बन्नुभएको छ । स्वतन्त्रसहित करिब १ दर्जन उम्मेदवार रहेपनि खनालको आफ्नै पूर्व पार्टी नेकपा एमालेका महेश बस्नेतसंग मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । हाल ७२ वर्षका खनालसंग मुख्य प्रतिस्पर्धा हुने ठानिएका बस्नेत इलाम नगरपालिकाका पूर्वमेयर समेत हुनुहुन्छ ।
सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । यादवलाई नेकपा एमालेको साथ रहँदा मधेश मुद्दा उठाएर नयाँ दल गठन गर्नुभएका राउतको यो पहिलो संसदीय प्रतिस्पर्धा हो । यो क्षेत्रमा सत्ताधारी गठबन्धनले भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरलाई समर्थन गरेको छ ।
लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । सत्तागठबन्धनको साथ पाउनुभएका ठाकुरको एमालेको समर्थन रहेका जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवसँग मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।
झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच घाँटी घाँटी प्रतिस्पर्धा हुने देखिन्छ । यी दुवै उम्मेदवारले अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्नुभएको थियो । लिङ्देनलाई एमालेको साथ रहँदा सिटौलालाई सत्ता गठबन्धनको साथ छ । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट उम्मेदवार बन्नुभएको छ । उमेरले ८० टेक्नुभएका केसीलाई ४६ वर्षीय एमाले उम्मेदवार सूर्यनारायण पाठकले मुख्य चुनौति दिने ठानिएको छ ।
प्रतिक्रिया दिनुहोस्