
सिन्धुली । भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठ पर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ घाटको निर्माण गरेका छन् ।
उनीहरुले छठका लागि आवश्यक सर सामग्रीहरुको समेत एक साथ बजारमा किनमेल गरी व्यवस्था गरी श्रद्धा, श्रक्ति र निष्ठापुर्वक गौमती छठीया घाँटमा भोलि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने तयारी गरेका छन् ।
विगतमा तराईका जिल्लाहरुमा मात्र मनाईने छठ पर्व पछिल्लो समयमा मध्यतराई र पहाडी क्षेत्रमा समेत मनाउन थालेका छन् ।
पछिल्लो समयमा छठ पर्व तराई र पहाडिया मूलका सबै जात जातिका मानिसहरु मिलेर एक साथ मनाउन थालेका छन् ।
शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् ।
यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो । आज शनिबार व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाएर खरना मनाईने धार्मिक चलन छ ।
षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्