
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताउनुभएको हो ।
उहाँले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताउनु भयो ।
उहाँले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गर्नुभयो । महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निरन्तरतामा नविनता हामीले भनेका छौँ । आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधार, नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हमीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ । घोषणापत्र लेख्दै गर्दा पार्टीको नेतृत्व पंक्ति सहभागी हुने कुराको अलावा विषय विज्ञ साथीहरु, नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराउने प्रयत्न गरेका छौँ । स्वयं खेलाडीलाई समावेश गरेर प्रतिनिधित्व गराएका छौँ।’
महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ पार्टी लाग्ने बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गर्नुभयो । उहाँले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्छ । देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ आएका छौँ । थप कानूनी बन्दोबस्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्नुपर्छ भन्नेकुरा घोषणापत्रमा राखेका छौँ । पुँजीगत बजेटसम्म खर्च हुन नसकेर हामीलाई पीर परेको कुरालाई अन्त्य गर्नको लागि थप कानूनी बन्दोबस्तसँगै निर्माणका कार्यहरु अघि बढाउन नेपाल साँझ परेपछि पनि निर्माणको जगतमा काम गर्छ भन्नको लागि तीन खण्डमा ठूला पूर्वाधारको निर्माणमा संलग्न हुने संकल्प लिएका छौँ । वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जान्छौँ भनेर संकल्प गरेका छौँ ।’
महामन्त्री शर्माले सार्वजनिक पद धारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसको लागि बाध्यकारी कानून निर्माण गर्ने बताउनु भयो । उहाँले सरकारी कार्यालयमा रहेका प्रशासनिक झन्झटलाई अन्त्य गर्ने, शहरी क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन समस्या समाधान गर्ने, भूमिहीनहरुको समस्या समाधान गर्ने र सामाजिक विसंगति अन्त्यको दशकको रुपमा देशलाई लैजाने कुरा घोषणापत्रमा समावेश गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्