
काठमाडाैं । चिसो याम सुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने गर्छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक हुनुपर्ने राय चिकित्सकहरुले दिएका छन् ।
चिसो महिनामा मानिसको शरीरमा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने भएका कारण विभिन्न समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
मौसम परिवर्तनसँगै मानिसको शरीरले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति परिवर्तन हुँदा रुघाखोकी लाग्ने, दम बढ्ने, झाडापखाला, श्वास प्रश्वासमा समस्या, निमोनियाजस्ता समस्या देखा पर्छन् । जाडो मौसममा
बालबालिका, वृद्धबृद्धा तथा दीर्घरोगीलाई अझ बढी समस्या हुने चिकित्सकले बताएका छन् । सामान्य रोग लागेको अवस्थामै एन्टिबायोटिक औषधीको सेवन गर्ने प्रचलनका कारण थप हानी हुनेतर्फ सचेत रहनुपर्ने चिकित्सकहरुको मत छ । सामान्य औषधीको सेवनबाटै ठीक हुने रोगमा एन्टिबायोटिक औषधि प्रयोग गर्नु जरुरी नहुने चिकित्सकको भनाइ छ । तर चिसो महिनामा सामान्य बिरामी हुनेवित्तिकै एन्टिबायोटिक औषधीको प्रयोग चिकित्सकीय दृष्टिले उचित मानिदैन ।
जाडोमा न्यानो कपडा लगाउने र तातो खाना खाने, पानी उमालेर मात्र पिउने, घरमै बनाएको स्वस्थ खाना मात्र खाने हो भने पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ । शरीर तातो बनाउने भन्दै प्राय अभिभावकहरुले बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिने गर्दछन् । धेरै बाक्लो लुगा लगाउँदा गुम्सिएर पसिना आउने र त्यहिबाट निमोनिया हुने सम्भावना रहेकाले होशियारी अपनाउन चिकित्सकको सुझाव छ ।
चिसो महिनामा लाग्ने रोगहरु अधिकांश सरुवा रोग भएकाले रुघाखोकी लागेकाहरुबाट टाढै बस्न र विरामीको थप हेरचाह गर्ने हो भने यो समस्याबाट बच्न सकिन्छ । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण भएकाले शरीरलाई न्यानो राख्न सकियो भने संक्रमणको जोखिम रहँदैन ।
चिसो मौसममा विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन गर्न चिकित्सकहरु सुझाव दिन्छन् । रुघा खोकी लागेको बेला शरीर न्यानो पारेर घरमै आराम गर्ने, तातो झोलपदार्थ सेवन गर्ने तथा नुनपानीले मुख कुल्ला गर्ने गरेमा चिसोबाट बच्न सकिन्छ । समस्यापछि पछुताउनुभन्दा आफ्नो शारीरिक अवस्थाको ख्याल गरी सचेतता अपनाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्