
काठमाडाैं । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सहज जित निकालेको छ । सिड्नीमा शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच ग्लेन फिलिप्सको उत्कृष्ट शतकको मद्दतले न्युजिल्यान्ड विश्वकप सुपर–१२ को गु्रप–१ मा श्रीलंकामाथि प्रभावशाली जित निकाल्न सफल भएको हो ।
सुरुआत निकै कमजोर रहेको श्रीलंकाले आठ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । उसका लागि भानुका राजपाक्षेले ३४ र दुसान सनकाले ३५ रन बनाए । यो जितपछि न्युजिल्यान्ड गु्रप–१ मा तीन खेलबाट पाँच अंकसहित शीर्ष स्थानमा छ । योसंगै उसको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।
श्रीलंका भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुआत पनि राम्रो रहेन र उसले १५ रनमा तीन विकेट गुमाइसकेको थियो । तर चौंथो क्रममा रहेका फिलिप्सले न्युजिल्यान्डको इनिङ्स सम्हाले र ६४ बलमा १ सय ४ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्