
बारा । बारामा निर्वाचन लक्षित नक्कली नोटको कारोबार हुन थालेको छ । खुल्ला सिमानाका कारण निर्वाचनको बेला बारा र पर्सामा नक्कली नोट भारत बाट नेपाल भित्रने गरेको छ ।
मंसिर ४ गतेको निर्वाचनको मौका छोपेर मधेशका जिल्लाहरुमा नक्कली नोटको कारोबार बढेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले असोज महिनामै २ पटक सिम्रौणगढ नगरपालिका–५ को एकै स्थानबाट २ पटक गरी झण्डै १० लाख रुपैयाँ नक्कली नोट बरामद गरेको छ । प्रहरीले १ भारतीय सहित ४ जनालाई पक्राउ गरेसँगै चुनाव लक्षित नक्कली नोट बारा पर्सा दुबै जिल्लामा भित्रने क्रम बढेको प्रहरीले जनाएको छ ।
निर्वाचन महँगिदै जाँदा चालु आर्थिक वर्षमा मधेश प्रदेशको ८ जिल्ला मध्ये सबैभन्दा बढि बारामा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट छापेर ल्याइएका नक्कली नोट निर्वाचनका बखत बजारमा फैलाउन सजिलो हुने भएकाले नक्कली नोट भित्रने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी बाराका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले निर्वाचन र तराईका मेला पर्वमा भिडभाड हुने हुँदा नक्कली नोट जस्ता अपराधिक कार्य हुने गरेको बताउनु भयो ।
शंकास्पद व्यक्ति र यस अघि जाली नोट कारोबारमा सजाय पाएकाहरुमा समेत प्रहरीले निगरानी बढाएको जनाएको छ । निर्वाचन लक्षित नक्कली नोटको कारोबार यस अघिका निर्वाचनमा समेत हुने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्