१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्यामरुककोटमा पुरातात्विक सम्पदाको संरक्षण गरिँदै


26
Shares

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने भएको छ ।

पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माणको काम समेत सुरु गरिएको छ ।

थापा र मल्लकालीन बिरासत बोकेको ज्यामरुककोटको ऐतिहासिक र पुरातात्विक महत्वयुक्त खड्भवानी कोत परिसरका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय स्थल बनाउनका लागि पूर्वाधार निर्माण थालिएको हो ।

समुद्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको खड्गभवानी कोत करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिन्छ ।

यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् । ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउन बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग र रेलिङ निर्माण, कोत परिसरमा बार, बाटो ढलान, पटाङ्गीनी निर्माण, नागथान र मौलो राख्ने काम भईरहेको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

१५ औं शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनीनगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । अध्यक्षकार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् ।

ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउन बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गतवर्ष २०६७/०६८ मा रु २१ लाखको लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।

त्यसैगरी, गतआर्थिक वर्ष २०६८/०६९ मा नगरपालिकाको पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख रुपैयाँ विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नागथान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

विक्रम सम्वत् १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइ पाइआएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाण स्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।