
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ ।
रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो ।
शनिबार राति रनवेमा मोटरसाइकल दौडाउँदा अनियन्त्रित हुँदा २ जनाको मृत्यु भएको थियो । यस्तै २ जना घाइते भएका थिए ।
प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै बुधबार नै सोहि ठाउँमा सन्धिखर्क नगरपालिक–२ बस्ने हेमराज भुसालले चलाएको बा. २५ प ८८७६ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भई विमानस्थल रनवेबाट करिब एक सय मिटर तल खस्दा भुसाल र मोटरसाइकल पछाडि बस्ने सन्धिखर्क नगरपालिका–२ बस्ने २० वर्षीय विष्णु पराजुली घाइते भएका थिए । घाइते मध्ये भुसालको बुटवलमा उपचार भैरहेको छ,भने पराजुलीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।
निर्माणाधीन विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम भएकाले रोक लगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्