८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : सहमहामन्त्री परियार


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धन भित्रका अन्य दलहरुसँग मिलेर सरकार बनाउने बताउनुभयो । उहाँले गठबन्धनमा आवद्ध दलहरु माओवादी केन्द, र एकीकृत समाजवादी लगायतका पार्टीको घोषणापत्र र कांग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गर्नुभयो । सहमहामन्त्री परियारले निर्वाचनपछि बन्ने सरकारले पार्टीको संकल्पपत्र कार्यान्वयन गर्ने बताउनुभयो ।

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित कांग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताउनुभयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले कांग्रेसका नेताहरुलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उहाँले स्पष्ट पार्नुभयो । अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उहाँले जिकिर गर्नुभयो ।

उहाँले सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरुले टिकट नपाएको बताउनुभयो । दलित नेताहरुको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उहाँले बताउनुभयो । उहाँले दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट वञ्चित नगरेको स्पष्ट पार्नुभयो ।