
बुटवल । गृहमन्त्रीसमेत रहेका रुपन्देही– ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गर्नुभएको छ ।
उम्मेदवार खाँणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गर्नुभएको हो ।
सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उहाँले स्थानीय तहले गरिरहेका र भइसकेका काम र निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्पपत्र बनाउनु भएको छ । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।
पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूणर् औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै, सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधारमा जोड, खेलकुद लगायतका विषय संकल्पपत्रमा उल्लेख छन् ।
संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि सहयोग गर्ने गरि समर्थन गरेको छ । गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले खाँणलाई समर्थन गर्दै तालमेल गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्