
काठमाडौं । चरम राजनीतिक हस्तक्षेप रहेको नेपाल प्रहरीभित्र चुनावअघि चार वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद खाली हुँदैछ । तर चुनावपछि कसको सरकार बन्ने भन्ने अनिश्चित हुँदा त्यो पदमा पुग्ने प्रहरी अधिकारी र पुर्याउने राजनीतिक नेतृत्व तैं चुप मै चुप छन् ।
नेपाल प्रहरीमा ८ एआईजीको दरबन्दी छ । त्यसमध्ये दुईवटा दरबन्दी रिक्त छन् । ५६ वर्षे उमेर हदका कारण विश्वराज पोखरेल र मुकुन्द आचार्यले अनिवार्य अवकाश पाएको ३ महिना बितिसक्दा पनि उक्त दुई पद पूर्ति हुन सकेको छैन ।
प्रहरी नियमावलीअनुसार पद रिक्त भएको ३ महिनाभित्र पदपुर्ति गरिसक्न पर्ने कानूनी व्यवस्था छ । तर सत्ता गठबन्धन प्रहरी अधिकारीको छनोटमा तटस्थ बसेको छ । आकांक्षी पहिला जस्तो शक्तिकेन्द्र धाएका छैनन् । चुनावी परिणामले सरकारको स्वरुप निर्धारण गर्ने भएकाले चलखेल नभएको विश्लेषकहरु बताउँछन् । यही कार्तिक १५ र २५ गते उमेर हदका कारण एआईजी अरुण कुमार बीसी र रवीन्द्रबहादुर धानुक घर जाँदै हुनुहुन्छ । धानुक हाल उपत्यका प्रहरी कार्यालयको प्रमुख हुनुहुन्छ भने बिसी प्रशासन बिभाग प्रमुखमा कार्यरत हुनुहुन्छ ।
यी ४ जनाको अवकाशपछि एआईजी सहकुल थापा, उत्तमराज सुवेदी, पूजा सिंह र आशा सिंह बहाल रहनु हुने छ । प्रहरी नियमावलीमा एआईजीको उमेरहद ५६ वर्ष तोकिएको छ । सत्तामा जानुअघि प्रत्येक राजनीतिक दलले सुशासनलाई चर्को मुद्दा बनाए पनि सत्तारुढ हुनासाथ प्रहरीको सरुवा, बढुवा हरेक राजनीतिक पार्टीको सोखभित्र पर्ने गर्छ ।
तीन दशकअघि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदा प्रहरीभित्र रोपिएको राजनीतिक बीउ झनझन् फस्टाउँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्