
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर डडेल्धुरामा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते हुने भएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिँउसेडी) मेला लाग्ने गर्दछ ।
सदरमुकामबाट ४ किलोमिटर दुरीमा रहेको प्रसिद्ध उग्रतारामा परिसरमा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा पूजा र दर्शन गर्न लाखौं भक्तजनको घुँईचो लाग्ने गरेको छ ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।
वर्षमा एकपटक र एक दिन भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्