
कैलाली । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । तर, कैलालीका मतदाताहरूले झुठा आश्वासन नमान्ने अडान लिएका छन् ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उम्मेद्वारहरू घरदैलोमा पुगिरहँदा जनतामा आशा भन्दापनि आशंका र आक्रोश बढी देखिन्छ । उम्मेद्वारहरू निर्वाचनका बेला घरदैलोमा पुगेर आश्वासन दिने तर, चुनावपछि फर्केर नहेर्ने प्रवृतिले जनतामा फेरि पनि झुठै आश्वासन हो कि भन्ने आशंका बढी छ । कैलालीका मतदाताहरू यसपाली झुटा आश्वासनले मत दिने पक्षमा छैनन् । उनीहरू यस पटकको निर्वाचनमा हरेक मतदाताको पीडा बुझ्ने र विकास गर्ने उम्मेद्वारलाई मत दिने पक्षमा छन् ।
सबै नेतालाई भागबण्डा मिलाउनकै लागि धेरै ठाउँमा स्थानीय भन्दा पहुँचवाला नेताले टिकट पाएपछि मतदातामा झन् निराशा बढेको छ । जनताका मर्म बुझ्ने नेताभन्दा पनि पहुँचका भरमा दलहरूले उम्मेद्वार छानेपछि मतदातामा निर्वाचनको उल्लास देखिएको छैन । नेताका लागि नभई जनताका लागि काम गर्ने उम्मेद्वार रोज्ने पक्षमा उनीहरू छन् ।
जनतालाई ठूलाठूला आश्वासन दिने तर, ती आश्वासन अर्को निर्वाचनसम्म पनि पुरा नहुँदा नेताहरूप्रति मतदाता रूष्ट भएका हुन् । बेरोजगारी, गरिबी कायमै रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता समेत पूरा नगरेको भन्दै अब स्पष्ट रुपले विकासका एजेण्डा लिएर आउने र त्यसलाई पुरा गर्ने उम्मेद्वारलाई मात्रै मत दिने मतदाताहरूको योजना छ ।
निर्वाचनमा जाँदा मतदातालाई ठूला आश्वासन दिने तर, आश्वासन अनुसारका काम नहुँदा नेताहरूप्रति जनताको वितृष्णा बढ्दै गएको हो । त्यसकारण उम्मेदवारहरुले गर्न सक्ने विकासका एजेण्डा मात्रै लिएर जनतालाई दिएको आश्वासन पुरा गर्ने कुरामा जोड दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्