
काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबारका लागि तय भएका दुई वटा उडान रद्द गरेको छ ।
निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुई वटा दिल्ली उडान रद्द गरेको हो ।
निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई आरए २०५/२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए २१७/२१८ काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ ।
आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ । निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयामका लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो ।
त्यस्तै, आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीलाई गरेको बताइएको छ ।
प्रवक्ता खड्काका अनुसार, आइतबार दिउँसोको उडानका लागि टिकट काटेका २ सय ५४ मध्ये १ सय ४ जनालाई अन्य वायुसेवामार्फत पठाइसकेकाले बाँकी रहेका १ सय ५० जनालाई निगमले सोमबार दिउँसो गर्न लागेको आरए २१७/२१८ नम्बरको उडानबाट दिल्ली पठाउँदै छ ।
त्यस्तै, बिहानका लागि तय गरिएको तर रद्द गरिएको आरए २०५/२०६ नम्बरको उडानका लागि टिकट लिइसकेका १ सय ५० जनालाई पनि दिउँसोकै उडानबाट पठाइने भएको छ ।
दिउँसोको वाइडबडीमा यात्रु क्षमता २ सय ७४ जना मात्रै भएको तर यात्रु बढी भएकाले अन्यलाई रि–रुटीङ गर्नुपरेको निगमले भनेको छ । निगमले आइतबारअघि काठमाडौं–दिल्ली–काठमाडौं बिहान र दिउँसो गरी दैनिक दुईवटा गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्