१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६१ जनाले आरोहण गरे मनास्लु हिमाल


91
Shares

काठमाडौं । यस वर्षको शरद ऋतुमा १६१ जना आरोहीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् ।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि ४०४ जना विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिनुभयो । विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उहाँले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताउनुभयो ।

अघिल्लो वर्षभन्दा केही कम संख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ । यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो । मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौं अग्लो हिमाल हो ।

मनास्लु मानसिरी पर्वतशृंखलामा पर्दछ । यो मौसमका लागि मनास्लु आरोहण आकर्षक मानिन्छ । बसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ । वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ ।

पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र ३०७ पुरुष गरी कूल ४०४ले आरोहण अनुमति लिएका थिएका थिए ।

शरद ऋतुको आरोहणका लागि सगरमाथा, मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि १४६ आरोही समूहका १ हजार २ सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ ।