
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताउनुभएको छ । उहाँले रुपन्देहीको तिब्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागि परेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझैं फराकिलो बनाउँदै लैजाने बताउनुभयो ।
गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले सोमबार बुटवल १७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरब वृद्धिका लागि निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रष्ट पार्नुभयो ।
गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिंचाई तथा कृषिका साना/ठूला दर्जनौं योजना रुपन्देहीमा भित्र्याएर र ती योजनाहरु सफल तुल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको उहाँले स्मरण गराउनुभयो । तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाईमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताउनुभयो । उहाँले रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने बताउनुभयो ।
गृहमन्त्री खाँणले मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरुको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको बताउनुभयो । खाँणले यसअघि सरकारका दुई दुई जना बहालवाला मन्त्री आएर औद्योगिक क्षेत्र शिलान्यास गर्न खोज्दा स्थानीयमाथि दमन भएको बताउनुभयो ।
उहाँले त्यो दमनविरुद्ध आफूले आवाज उठाएको र अहिले सरकारमा आइसकेपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्