
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको ३ करोड रूपैयाँ बढी आर्थिक सहयोगमा भकिम्लिमा अत्याधुनिक प्रविधियुक्त विद्यालयकाे भवन निर्माण गरिएको छ ।
स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो । ३ करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको साेही विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लिवासीले ३ करोड रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो ।
पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्लि गाविसको जयन्ती माविको भवन वि.स. २०७२ को महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लिवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए । साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लिवासीलाई गुहारेको थियो ।
विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लिलीहरुबाट मनग्य सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयाे । दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त भएकाे सहयोगले गाउँका बालबालिकाहरुले सुविधा सम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने उहाँकाे भनाइ छ ।
विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी गाउँमै भवन निर्माणका लागि ईट्टा बनाएर भवन निर्माण गरेको हो ।
अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको याे विद्यालय भवन चिटिक्क परेकाे देखिएको छ । गाउँमै अत्याधुनिक प्रविधि सहितका सुविधा सम्पन्न विद्यालय भवन बनेपछि यहाँ विद्यार्थीहरुको संख्या पनि बढेको र उनीहरुको पढाईप्रति पनि रुचि बढेको पाइएको अध्यक्ष पुनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्