१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा व्यास जन्म भूमिको प्रचारका लागि महामिलन महोत्सव


130
Shares

तनहुँ । तनहुँको दमौली व्यास क्षेत्रमा एक महिने महामिलन महोत्सव आयोजना गरिएको छ ।

पछिल्लो समय व्यास जन्मभूमि ओझेलमा पर्दै गएपछि त्यसको महिमा उजागर गर्ने उद्धेश्यले एक महिने अखण्ड किर्तन लगाइएको हो । जसले गर्दा यो क्षेत्रमा आन्तरिक पर्यटक वृद्धि हुने विश्वास समेत गरिएको छ ।

मादी र सेतीको संगम स्थल व्यास क्षेत्र परिसरमा एक महिने अखण्ड किर्तन लगाइएको छ । व्यासको प्रचाप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा व्यासको तपोभूमिमा विश्व ओमकार र हिन्दु महामिलन पर्व गरिएको हो । अखण्ड किर्तन कार्तिक १ गतेदेखि सुरु भएर ३० गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ । राति र दिनको समयमा २४ सैं घण्टा किर्तन चल्ने भएकाले पनि भक्तजनको भीड बढ्दै गएको छ ।

पछिल्लो समय व्यास जन्म भूमि ओझेलमा पर्दै गएपछि भक्तजनको सक्रियतामा त्यस क्षेत्रमा हिन्दु महामिलन पर्व लगाइएको हो । धेरै भन्दा धेरै धार्मीक पर्यटन भित्र्याउने लक्ष्यका साथ गरिएको अखण्ड किर्तनमा विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । धर्मको बारेमा बुझाउनुका साथै व्यासको प्रचारका लागि हिन्दु महामिलन पर्व लगाइएको वेद अनुयायी प्रतिष्ठानका संरक्षक दामोदार बाबाले बताउनुभयो ।

४ वेद १८ पुराणका रचयिता महर्सी वेद व्यासको जन्म भूमिको ब्यापक प्रचारप्रसार र त्यस क्षेत्रको विकासको लागि कार्तिक महिनाभर पर्व मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । व्यासको वृहत्तर विकासको लागि कार्तिक महिनामा लगाइएको पर्वमा स्वदेश तथा विदेशबाट समेत भक्तजनको उल्लेख्य सहभागीता रहने विस्वास गरिएको छ । यसअघि पनि व्यास क्षेत्रमा १८ महिने अखण्ड किर्तन लगाइएको थियो । त्यतिखेर पनि विभिन्न ठाउँबाट भक्तजन तथा साधुसन्तको उपस्थिति रहँदा यस क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुगेको संरक्षक बाबाले बताउनुभयो ।

यस ठाउँलाई २८ औं व्यासले जन्म लिएको ठाउँका रुपमा लिइन्छ । शिव पञ्चायन मन्दिर परिसरमा १ सय ८ फिटको अग्लो मूर्ति निर्माणको काम पनि भैरहेको छ । हिन्दु महामिलन एवं ज्ञानमहायज्ञमा भागवत पूजा, रुद्राभिषेक, हवन, श्रीमदभागवत लगायत पाठपारायण, हरिनाम संकिर्तन लगायत विभिन्न पूजापाठ समेत गरिने प्रतिष्ठानले जनाएको छ । व्यासको प्रचारप्रसार गर्न सके यहाँ धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन सहयोग पुग्ने देखिन्छ ।

त्यसैले व्यास क्षेत्रको विकासको लागि पनि सबैलै आ-आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ ।