१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पोलबाट तार हटाउन प्राधिकरणको ४५ दिनको अल्टिमेटम


754
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केवल इन्टरनेट सेवा प्रदायकलाई आफ्ना पोलबाट तार हटाउन ४५ दिनको अल्टिमेटम दिएको छ ।

अटेर गरे आफैले हटाउने प्राधिकरणको चेतावनी छ । आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको हो ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणले विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोकी सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई निर्देश गरेको हो ।

विद्युतीय पोलमा अव्यवस्थित तरिकाले तानिएका तार तथा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप बनाउनुका साथै आगलागी लगायतका दुर्घटनाहरु बढेको एवं प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने प्राधिकरणले जनाएको छ । ४५ दिनभित्र तार तथा उपकरण व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउन प्राधिकरणले सेवा प्रदायकहरुलाई भनेको छ ।