
झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल भईरहेको छ ।
२०७० मा भएको संविधान सभाको निर्वाचनमा एमालेका नेता रबिन कोइरालासँग ६ सय ८९ मतको झिनो अन्तरले पराजित हुनु भएका कांग्रेसका नेता विश्वप्रकाश शर्मा २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कुमार कार्कीसँग २ हजार ८ सय १० मतको अन्तरले पराजित हुनु पर्याे ।
संसदीय निर्वाचनमा तेस्रो पटक होमिनु भएका कांग्रेसका महामन्त्री शर्माको टक्कर यस पटक एमाले नेता अग्नी खरेलसँग हुने भएको छ । यस पटक भने महामन्त्री शर्मालाई चुनाव जित्न सहज हुने देखिएको छ । किनकि खरेलको निर्वाचन क्षेत्र झापा १ नम्बर नरहेको र शर्माको आफ्नै निर्वाचन क्षेत्र भएकाले पनि शर्मालाई जित्न सहज हुने धेरैको अनुमान छ ।
एमालेका नेता रबिन कोइरालाको यही निर्वाचन क्षेत्रमा उम्मेद्वारी रहेको भए यस पटक पनि महामन्त्री शर्मालाई यो निर्वाचन क्षेत्रमा चुनाव जित्न सकस हुने कांग्रेसभित्र विश्लेषण थियो । तर, एमालेका नेता कोइराला ब्याकभएपछि शर्मालाई चुनावी मैदान सहज भएको एमाले वृत्तमै पनि चर्चा छ ।
यता शर्मालाई भने अझैंपनि कांग्रेस भित्रको किचलो मिलाउनु पर्ने बाध्यता छ । किनकि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ । कांग्रेस महामन्त्री शर्मामाथि आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ ।
सत्तारूढ गठबन्धन दलका तर्फबाट चुनावी मैदानमा होमिनु भएका शर्मालाई यस पटकको निर्वाचन जसरी पनि जित्नै पर्ने बाध्यता छ ।
यता, एमालेको बिरासत जोगाउने होडमा लाग्नु भएको छ, एमाले नेता खरेल पनि । उहाँको निर्वाचन क्षेत्र झापा-२ भनिएपनि अन्तिम समयमा पार्टीले झापा-१ का लागि टिकट दिएसँगै उहाँ यो निर्वाचन क्षेत्रमा जानु भएको हो । तर, उहाँलाई पार्टी भित्रै ‘टुरिष्ट’ उम्मेद्वारका रूपमा हेरिनु र अर्का नेता कोइरालालाई प्रदेश सभा सदस्यको मात्रै टिकट प्रदान गरिनुले पनि असन्तुष्टि छ ।
निकै प्रखर मानिनु हुने कांग्रेसका नेता शर्माले आफूलाई उछिन्ने हुन कि भन्दै खरेल पनि मतदाताका घर घर पुगेर मत मागिरहनु भएको छ ।
यो निर्वाचन क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेका छन् । एमाले राप्रपासँगको गठबन्धनमा चुनावमा होमिएको छ भने, नेपाली कांग्रेस माओवादी केन्द्र सहितका अन्य दल सहित चुनावी दौडमा छ ।
यद्यपी यही निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यकै लागि स्वतन्त्र सहित २१ जनाको उम्मेद्वारी रहेकाले प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्