७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


किसानहरु अन्नबाली भित्र्याइरहेकाे बेला नेताहरुकाे घरदैलाे कार्यक्रम


65
Shares

म्याग्दी । पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा क्षति पुर्‍याउँछ की भन्ने डरले किसानहरु बिहान उठेदेखि राति अबेरसम्म खेतबारीमा नै व्यस्त भएका छन् ।

खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन व्यस्त किसानहरुलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारहरुका कुरासुन्ने फुर्सद छैन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा चुनावका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँगाउँमा चुनावी प्रचार–प्रसारमा हिडेका छन् । राजनीतिक दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले समूह बनाएर म्याग्दीका गाउँ बस्ती र खेतबारीमा पुगेपनि मतदाताहरु भने आफ्नै काममा व्यस्त हुने गरेका छन्।

चुनाव नजिकिदै गर्दा दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिएपनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन् । एकातिर कामको चटाराे छ भने अर्कोतिर विगतका निर्वाचनहरुमा भोट दिएर पठाएका जनप्रतिनिधिहरुको व्यवहारले जनताको मन कुँडिएको छ । यो पटकको चुनावी चहलपहलमा मतदातामा उत्साह देखिएको छैन् । चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार र पार्टीका कार्यकर्ता पुगेको मतदाताले गुनासो गरेका छन् ।

जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरु चुनावको समयमा सबै जनताको घरदैलोमा पुग्ने जनतालाई आश्वासन दिने गरेका छन् । तर विजयी पश्चात जनतालाई दिएका ती आश्वासनहरुलाई उम्मेदवारले बिर्सने गरेका छन् । म्याग्दीको बेनी नगरपालिका-२ का नारायण सापकोटाले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा हिड्दै विभिन्न आश्वासन मात्र दिएकाे तर कहिल्यै पूरा गर्न नसकेको गुनासाे गर्नुभएकाे छ ।

मालिका गाउँपालिका-२ रुम बेलिका जगबहादुर बिकले चुनाव जितेर गएपछि नेताहरुको अनुहारै देख्न नपाइने बताउनु भएकाे छ । गाउँमा विकास पनि नभएको र दुःखी गरीबहरुको अवस्थामा सुधार पनि नआएको उहाँले गुनासो गर्नुभएकाे छ । उहाँले भन्नुभयाे-‘नेताहरुप्रति विश्वास नै लाग्न छोड्यो । आफ्नो स्वार्थको लागि मात्रै लड्छन् । जनताको वास्तै गर्दैनन् । चुनाव जितेर गएपछि जनता बिर्सने रोग हाम्रा नेताहरुलाई लागेको छ ।’

त्यस्तै मंगला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावका बेला बाहेक अरु समयमा नेताहरुले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘आफ्ना कार्यकर्ता बाहेक अरु जनताको नेताहरुलाई अघिपछि वास्ता नै हुँदैन । चुनाव आयो भने वल्ल जनता चाहिन्छ । चुनाव जितेर गएपछि पटकै गाउँ फर्केर नआउने चाड–पर्वमा विवाह भएका छोरीबेटी माइत आए जस्तै नेताहरु पनि कहिलेकाँही जिल्लामा आएपनि आफ्ना आसे–पासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश भएका छन् ।’ जसका कारण यस पटक सर्वसाधारण जनतामा चुनावप्रति खासै उत्साहा नभएको उहाँले बताउनुभएकाे छ ।

त्यस्तै, म्याग्दी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले जनताले चुनेका प्रतिनिधिले जनताको मन जित्ने गरी काम गर्न नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘जनताले सुशासन चाहेका छन् । मौलिक हकको उपयोग निर्वाधरुपमा गर्न चाहन्छन् जनता । तर नेताहरुको भनसुन बिना कहिकतै केही कामै नहुने भएपछि जनताले आफैंलाई धिक्कार्दै नेता गुहार्न बाध्य हुन्छन् । तर दलका नेताहरुले जनताका सामान्य काममा पनि पक्षपात गर्ने र राजनीतिक पूर्वाग्रह देखाउने गर्दा जनता राजनीतिप्रति नै उदासिन रहने गरेका पाइएको हो ।’

जनप्रतिनिधिहरुले जनताका समस्याहरु बुझ्न नसकेको म्याग्दीका अधिकाँश मतदाताहरुको तर्क रहेकाे छ । सांसदहरुले चुनाव जितेर गएपछि गाउँलाई नै बिर्सने बेनी नगरपालिका- ५ का शिव जिसीकाे भनाइ छ । उहाँले भन्नुभयाे- ‘चुनाव जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति नेताले सुधार गर्दै राजनीति गर्ने मानिसले जनतासँगको सामिप्यता सधैंभरी कायम राख्नुपर्दछ।’

प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच-पाँच जना उम्मेदवार रहेका छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र रहेका छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४ सय ७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६ सय ४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १ सय २० जना मतदाता रहेका छन् ।