७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई


156
Shares

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षे बाली धान भित्र्याउन भ्याई-नभ्याई भएको छ ।

यति बेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षे बाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो ।जिल्लाको माथिल्लो क्षेत्रमा वर्षे सिजनमा लगाइएको धान, कोदो, मकै र भटमास लगायतका नगदे बाली भित्र्याउन भ्याई-नभ्याई भएको किसानहरुले बताएका छन् ।

एक नगरपालिकासहित ५ वटा गाउँपालिका रहेको म्याग्दीमा खासगरी माथिल्लो क्षेत्रमा खाद्यान्न बालीको उत्पादन भित्र्याउने चटारोमा किसानहरु लागि रहेका छन् । जिल्लाको पात्लेखेत, घतान, पुलाचौर र कुहुँ लगायतका स्थानमा वर्षे बाली भित्र्याउन थालिएको छ । वर्षे बाली अन्तर्गत धान र कोदो बाली भित्र्याउने तथा हिउँदे बाली गहुँ, जौ, उवा र तोरी लगाउने जस्ता काममा किसानहरु व्यस्त हुन थालेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–९ का राजेन्द्र खत्रीले गत असारमा रोपेको धान पाकेपछि काट्ने काम सकिए पनि झाँट्ने र थन्क्याउने काम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार घतानका अधिकांश क्षेत्रमा धान काटिसकेका छन् । अहिले धान झाँट्ने र कोदो टिप्ने कामको भ्याई-नभ्याई भएको छ ।

यसपटक समयमै वर्षा भएका कारण धानकाे उत्पादन बढ्ने हुँदा किसानहरु समेत उत्साहित बनेका छन् । गत जेठ महिनादेखि नै पर्याप्त वर्षा भएका कारणले गर्दा समयमै धान रोपाइँ भएकाले धानको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लाको कुल खेती योग्य जमिन मध्ये ३ हजार ८ सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

धान भित्राउने समयमा ३ दिनसम्म वर्षा भएका कारण केही स्थानमा धान उत्पादन कम हुने अनुमान गरिएको छ ।