
डडेल्धुरा । संविधान कार्यान्वयन पछिको दोश्रो आम निर्वाचन डडेल्धुरामा रोचक हुने देखिएको छ ।
२०४८ सालदेखि एकलौटी चुनाव जित्दै आउनु भएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका लागि यस पटक पहिले जस्तो सजिलो नहुने अनुमान गरिएको छ । विगतका चुनावमा प्रचारमा त्यति ध्यान नदिने देउवा यस पटक भने प्रचारका लागि जिल्ला पुगिसक्नु भएको छ ।
उहाँले आजैदेखि चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ भने जिल्लाका सात स्थानमा चुनावी सभा गर्ने तय गरिएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र दुई रहेको डडेल्धुरामा पाँच दलिय गठबन्धन र स्वतन्त्र चुनावी तालमेलका साझा उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ का लागि घरदैलो अभियानमा रहेका उम्मेदवारहरू जनतासँग परिचित हुन र मत माग्न व्यस्त रहेकाछन् ।
चुनावी आम सभा गर्न आचार संहिताले नमिल्ने समयमा उम्मेदवारहरू जिल्लाको ग्रामीण क्षेत्रदेखि बजार क्षेत्र हुँदै प्रचारप्रसार अभियान सञ्चालन तथा कार्यकर्ता परिचालन गरिरहेका छन् ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ मा पाँच जना र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ मा ७ जना रहेका छन् ।
जसमा ‘क’ चुनावी मैदानमा सत्ता गठबन्धनका नेता तथा नेकपा (एकिकृत माओवादी) का उम्मेदवार खगराज भट्ट र प्रतिपक्षी पार्टी एमालेबाट पूर्व मन्त्री पठान सिंह बोहोरा बिच कडा प्रतिस्पर्धा देखिएको छ ।
यसैगरि सत्ता गठबन्धनको तर्फबाट बहालवाला मन्त्री गोबिन्द राज बोहरा र नेकपा एस तथा नेपाली कांग्रेस वीपीको समर्थनका स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशी बिच पनि कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।
यस बाहेक प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा राप्रपा, जसपा र स्वतन्त्र उम्मेदवारहरू पनि घरदैलो कार्यक्रम गरेर मतदाता रिझाउन र आकर्षित गर्न विभिन्न चुनावी गतिविधिहरू सञ्चालन गरिरहेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण पनि यहाँको निर्वाचन परिणामलाई निकै महत्वका साथ हेरिएको छ । बिगतको निर्वाचन भन्दा गठबन्धनका कारण पनि यो निर्वाचनको परिणाम आंकलन गरे जस्तो गरी नआउने अनुमान गरिदैछ ।
कुन मतदाताले कस्लाई भोट हाल्छ भन्ने अनुमान लगाउन गाह्रो छ । त्यसैले डडेल्धुराको मंसिर ४ गते हुन निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्