
सिन्धुली । मंसिर ४ गतेको आम निर्वाचन सम्पन्न गराउन भर्ना गरिएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्यस्थलमा खटाएको छ ।
सिन्धुलीका १ हजार ३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको ९ वटै स्थानीय तहका दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाएकोे सिन्धुली प्रहरीले जनाएको छ ।
२८ वटा प्रहरी युनिटबाट म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरीको रेकर्ड अनुसार नगरपालिकातर्फ कमलामाईमा दुई सय ८८ र दुधौलीमा एक सय ३२ म्यादी प्रहरीलाई खटाईएको हो । यसैगरी, तीनपाटनमा एक सय ८८ जना, हरिहरपुरगढीमा ८५, सुनकोशीमा ९८, फिक्कलमा एक सय दुई, गोलन्जोरमा एक सय ४७ जना म्यादी प्रहरी खटाईएको छ ।
सिन्धुली प्रहरीले वैशाख ३० गते सम्पन्न स्थानीय तहभन्दा ८९ बढी म्यादी प्रहरी छनोट गरेको हो । गत स्थानीय तहको चुनावमा १ हजार ३ सय म्यादी प्रहरीलाई भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्