१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किशोरीमाथि बलात्कार नभएको सन्दीप पक्षका वकिलकाे जिकिर


5.122k
Shares

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दा आज बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको छुनछेक बहसमा लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।

पीडित किशोरी पक्षका कानुन व्यवसायी र सरकारी वकिलले शुक्रबार जवाफी बहस गर्नेछन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी लव मैनाली र सुवास पाठकले बहस गर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश घिमिरेको इलासमा सुनुवाई भइरहेको छ ।

सुनुवाइका क्रममा लामिछाने तर्फका कानुन व्यवसायीले पीडित किशोरी नावालिग नभएको र बलात्कार नभएको जिकिर गरेका छन् । बलात्कार आरोपमा सरकारी वकिलको कार्यालयले लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाण पेस गरेको छ । जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ । प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ । कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ ।

दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ । प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ । काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए ।

उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ । पीडित युवती र सन्दीप दुवै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरिएको छ ।