
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला म्याग्दीका १५ वटा मतदान स्थललाई अति संवेदनशील र ५८ वटा मतदान स्थललाई संवेदनशील वर्गीकरण गरिएको छ ।
जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदानस्थल मध्ये १५ वटालाई अति संवेदनशिल, ५८ वटालाई संवेदनशिल र ९ वटालाई सामान्य समुहमा राखेर सुरक्षा तयारी गरेको जनाएको हो ।
म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले मतदान स्थलको संवेदनशिलताको आधारमा सुरक्षा योजना बनाइएको जानकारी दिनुभयाे ।
‘मतदान पुर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना तयार छ ।’ उहाँले भन्नुभयाे ‘नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका जनशक्ति र म्यादी प्रहरी परिचालन गरिने छ ।’
भौगोलिक अवस्था, सञ्चार र यातायातको सुविधा, विगतका चुनावमा भएको घटनाको आधारमा मतदानस्थलहरुलाई वर्गीकरण गरिएको छ । यसैगरी चुनाव बहिष्कारको घोषणा गरेको नेत्रविक्रम चन्द(विप्लप) नेतृत्वको नेकपाको प्रभाव क्षेत्रलाई पनि सुरक्षाका दृष्टिले संवेदनशिल मानिएको छ ।
धवलागिरि गाउँपालिकाको वडानम्वर १ मा पर्ने गुर्जाको जनकल्याण मावि, वडानम्वर ४ को धवलागिरी आधारभूत विद्यालय बगर र चन्द्रज्योती माविको मतदान केन्द्रमा यातायातको सुविधा पुगेको छैन् । रघुगंगा गाउँपालिका–८,घ्यासीखर्कमा संचार सुविधा पुगेको छैन् ।
निर्वाचन सरक्षाका लागि म्याग्दीमा ७३२ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने गरी नक्साङ्कन गरिएको छ ।
६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ११९ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधि र २ प्रदेशसभा निर्वाच क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन जना पदका लागि १९ जना उम्मेदवारको प्रतिस्पर्धामा छन् ।
जिल्ला कुल मतदाता ८६ हजार १२० जना रहेका छन् । प्रदेश १ मा ४८ हजार ४७२ जना र प्रदेश २ मा ३७ हजार ६४८ जना मतदाता रहेका छन् । यसैबीच जिल्ला म्याग्दीमा निर्वाचनका सामग्री आईपुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५८ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा आइपुगेको हो ।
जिल्लामा आईपुगेको निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू मतदान केन्द्रमा पठाउनका लागि पोका पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्